काठमाडौं- पूर्वी नेपालको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग भोलि देखि पुनः सञ्चालनमा आउने भएको छ । भौतिक मन्त्रालयका अनुसार भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
बाढी-पहिरोले भत्केबिग्रिएको ठाउँमा कल्भर्ट बनाएर, ठाउँ-ठाउँमा खोला डाइभर्सन गरेर तत्काल सवारीसाधन निर्बाध चल्ने गरी सडक मर्मत गरिएको जनाइएको छ ।
यातायात सञ्चालनमा आएपछि दशैँमा आउजाउ गर्ने यात्रुलाई सहजतासँगै अन्य वैकल्पिक सडकको सवारी चाप र जोखिमसमेत कम हुने मन्त्रालयको भनाई छ ।
रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो।
बीपी राजमार्गको नेपालथोक-खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।
रोशी खोला र सुनकोसी नदीमा आएको बाढी-पहिरोका कारण सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।