काठमाडौं- सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने एचपिभि अभियानका लागि चार लाख ६० हजार ९४० मात्रा खोप नेपाल ल्याइएको छ। पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप यस अभियानका लागि सरकारले पहिलो पटक ल्याएको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप आएको पुष्टि गर्दै यस पटकको एचपिभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क खोप पाउने जानकारी दिनुभयो । उहाँले विद्यालयमा समेत खोप अभियान सञ्चालन हुने बताउनुभयो।
डा. गौतमका अनुसार ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन एकाइ प्रमुख सञ्जीव कट्टेलले एचपिभी खोप अभियानका लागि कुल १७ लाख ७० हजार २० भाइल खोप आउने जानकारी दिनुभयो । उहाँले बाँकी खोप आगामी १० जनवरीभित्र आइसक्ने बताउनुभयो । उहाँले एचपिभी खोपलाई प्रदेशस्थित आपूर्ति केन्द्रहरूमा पठाइने बताउनुभयो ।
डा. गौतमले किशोरीलक्षित यो कार्यक्रम विद्यालयकेन्द्रित हुने बताउनुभयो । उहाँका अनुसार १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालयबाहेकका स्वास्थ्य संस्थामा पनि खोप अभियान सञ्चालन हुने छ ।
डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वास्थ्य स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताउनुभयो ।