काठमाडौं- रौतहटको देवाही गोनाही- कर्कचका ५६ वर्षीय भोला राय यादव अमेरिकामा बनेको नाइन एमएम नाइन राउण्ड स्वचालित पेस्तोलसहित पक्राउ परेका छन्। उनलाई दुर्गा मेला लागेको स्थानबाट पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले यादव माथि शंका लागेर चेक गर्दा उनको साथबाट मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले जानकारी दिए ।
उनका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ ।
प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्यागजिन एक थान, गोली चार राउन्ड र सर्ट गनको गोली दुई राउन्ड पनि बरामद भएको छ । हाल यादव माथि अनुसन्धान भैरहेको छ ।