एजेन्सी – युएईमा जारी नवौं संस्करणको महिला टि ट्वान्टी विश्व कपमा साबिक विजेता अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।
बिहीवार युएईको दुबईमा भएको खेलमा लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका ८ विकेटको फराकिलो अन्तरले विजयी भयो ।
अस्ट्रेलियाले दिएको १ सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि अनेका बोसले ४८ बलमा ८ चौका र १ छक्काको सहयोगमा नट आउट ७४ तथा कप्तान लाहिरुले ३७ बलमा ४२ रन जोडिन् । अस्ट्रेलियाका लागि अनाबेल सुदरल्यान्डले २ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ३४ रनको योगफल तयार गर्यो । अस्ट्रेलियाका लागि बेथ मुन्नीले ४२ बलमा ४४ तथा कप्तान ताहिल म्याग्रेथले ३३ बलमा २७ रन बनाईन् । दक्षिण अफ्रिका लागि अयाबोन्गा खाकाले २ विकेट लिईन् ।
६ पटकको च्याम्यिन अस्ट्रेलिया दोस्रो पटक फाइनल पुग्न चुकेको हो । पहिलो संस्करणको विश्व कप २००९ मा समेत अस्ट्रेलिया फाइनल पुगेको थिएन । दक्षिण अफ्रिकाले आइतवार हुने फाइनलमा आज हुने वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।