काठमाडौं : नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । गत सोमबारदेखि सञ्चालित परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए । उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् । दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ । बीडीएसतर्फ २९९ जना परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् ।
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सोमबारदेखि आजसम्म परीक्षा जारी थियो। परीक्षा सकिएको केही समयमै नतिजा प्रकाशित गरिएको हो ।