पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

आज देखि मेलम्चीको पानी काठमाडौं पठाइने

२०८१ आश्विन २२, मङ्गलवार १३:४६ बजे

काठमाडौं- आज देखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाइने भएको छ ।

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । 

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घ१र्ष समिति एवं त्यहाँका सरोकार पक्षसँग वार्ता गरेका हुन् । दसैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिवद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेका थिए । 

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौं आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । 

निर्देशक लामिछानेले भने, “मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा सङ्घर्ष समितिसँग सहमति भएको छ । मेलम्चीबाट भोलिदेखि सुन्दरीजलमा पानी पथान्तरण गरिनेछ ।” उनका अनुसार सहमतिअनुसार आयोजना पुनः निर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्नेछ । 

कार्यकारी निर्देशक लामिछानेका अनुसार आजैका मितिदेखि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पठाउनका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको छ ।