पोखरा- पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीबाट अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाइएको थियो ।
कास्की जिल्ला अदालतमा पुस १६ गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक भइरहेकोमा आज सकिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा लागेको थियो ।