पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी, क्षतिग्रस्त सडक मर्मतमा ६ हजार सेना परिचालन

२०८१ आश्विन २२, मङ्गलवार २३:५५ बजे

काठमाडौं- सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ भने नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्न ६ हजार सैनिक खटाएको छ। 

हालैको बाढी पहिरोबाट क्षतिग्रस्त पुलहरूमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जानकारी दिए।

सिन्धुपाल्चोकमा बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न पुगेका उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए।

नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्न अविरल वर्षासँगको विपदबाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिएका छन्।

सेना विपद् प्रभावित जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उनले बताए।

बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन्।

खुर्कोटस्थित सुनकोसी नदीमा ‘बेलीब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पुर्‍याएको सहायक रथी केसीले बताए।

बाढी पहिरोका कारण क्षति भएका विभिन्न ५ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। बिपी राजमार्ग अन्तरगत काभ्रेको रोशी गाउँपालिका–८ चारसयबेंसी र भ्याकुरेमा सडक पूर्ण रूपमा अवरुद्ध छ।

यस्तै रामेछाप–सिन्धुली–खुर्कोट, बाह्रबिसे–तातोपानी, बझाङको छबिसपाथीभेरास्थित जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। अन्य राजमार्गका विभिन्न ८ स्थानमा सडक एकतिर्फ छन्।