रौतहट : लामो समयदेखि विवादको घेरामा रहेका कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालविरुद्ध उपमेयरसहितका जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन् ।
करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब सार्वजनिक गर्नुपर्ने मागसहित उपमेयर रिता देवी यादवसहितका जनप्रतिनिधिले मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । निर्वाचित भएदेखि नै जनप्रतिनिधिहरू लाई झुक्याएर हस्ताक्षर गराई करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले मेयर जैसवालको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
विभिन्न ८ बुँदे माग गर्दै उपमेयर यादवसहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरूमा समेत तालाबन्दी गरेको जनाइएको छ । नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै विगतमा नगरक्षेत्र भित्र हेन्डपाइप जडानमा छुट्याइएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विद्युत् पोल खरिदका लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जम्मा गराई सम्झौता गर्नु पर्ने, आर्थिक वर्ष २०७९÷८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघसंस्थाबाट आएको योजनाको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोरको संख्या, नाम, ठेगानासहित, उनीहरूको तलबमानको विवरण तथा भुक्तानीबारे लिखित जानकारी गराउन माग गरिएको छ ।
नगरपालिकाको स्वास्थ्य, जिन्सी, प्रशासन बाहेक मेयर समेतको कार्यकक्षमा तालाबन्दीपछि उपमेयर रिता देवी यादव लगायत जनप्रतिनिधिले मेयर अजयप्रकाश जैसवालले करार कर्मचारी, डिजेल पेट्रोल, कर्मचारीको खाजा लगायत विभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लगाएका छन् ।
उपप्रमुख यादवसहित वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नम्बर ७ का अध्यक्ष सहिद मिया, कार्यपालिका सदस्य जामुन ठाकुरलगायत ताला लगाउन गएका थिए । नगरप्रमुख जैसवालले छलफलको माध्यमबाटै समस्याको निकाश निस्कने बताए । ‘मैले कुनै किसिमको अनियमितता गरेको छैन्,’ उनले भने,‘आरोप लगाउन सजिलो छ । कसैको उक्साहटमा ताला लगाउनु उचित हुँदैन । सबै मिलेर जाँदै ठीक हुन्छ ।’