एजेन्सी : गाजाको रफाहमा विस्थापितको शिविरमा भएको पछिल्लो इजराइली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
आक्रमणमा ६४ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ ।
गाजाका स्थानीय अधिकारीहरूका अनुसार आइतबार इजराइली आक्रमणमा दक्षिणी गाजा पट्टी सहरमा भीडभाडयुक्त शिविरमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएपछि विश्वव्यापी आक्रोश बढेको थियो । यो घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकाले भने हमासले हतियार भण्डारण गरेका कारण आगलागी भएको हुनसक्ने बताएको छ ।
आइतबारको आक्रमणलाई लिएर विश्वव्यापी आक्रोश बढिरहेका वेला इजरायले पुनः रफाहमा आक्रमण गरेको हो । राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सीका अनुसार इजरायलले रफाहमा लगातार आक्रमण गर्न थालेपछि करिब १० लाख नागरिक अन्यत्र सरेका छन् ।