पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बोलिभियामा सैन्य 'कू' को प्रयास असफल, विद्रोही सैन्य अधिकारी जुनिगा पक्राउ

२०८१ आषाढ १३, बिहीवार १२:२० बजे

एजेन्सी- बुधवार बोलिभियाको राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ।

बख्तरबंद गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ गर्नका लागि तयारीका साथ पोजिसनमा बसेको समाचार छ। तर अहिले भने सेना पछि हट्न थालेको बताइएको छ।

विद्रोही सैन्य अधिकारी जनरल जुआन जोसे जुनिगाले आफुले लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका छन्। तर उनी अहिले पक्राउ परेका छन्।

राष्ट्रपति लुइस आर्सेले ‘कू’ प्रयासको निन्दा गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र परिचालन हुन आह्वान गरेका छन्। साथै उनले नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने घोषणा गरेका छन्।