पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

उपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलियो

२०८१ श्रावण २६, शनिवार १३:२८ बजे

काठमाडौं- साउन महिना यता उपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ।

साउन महिनायता मात्रै ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ।

महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा बढी ललितपरमा ३४ जनामा संक्रमण देखिएको हो। त्यसपछि कैलालीमा आठ, काठमाडौं र प्युठानमा समान २-२ र रुपन्देहीमा १ जनामा संक्रमण देखिएको हो।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले पछिल्लो ४८ घण्टामा ललितपुरमा ७ जना, काठमाडौं र रुपन्देहीमा एक-एकजना गरी कुल ९ जनामा हैजा देखिएको बताए। उनले कुल ४७ संक्रमितमध्ये ललितपुरका ३ जना मात्रै अस्पतालमा रहेको समेत जानकारी दिए। इडिसिडीले यो सिजनमा अहिलेसम्म हैजाबाट कसैको ज्यान नगएको समेत स्पष्ट पारेको छ।