काठमाण्डौं : मधेस प्रदेशमा गत वर्षको तुलनामा रोपाइँको क्षेत्रफल घटेकाले उत्पादन घट्ने अनुमान गरिएको छ । धान रोपाइँका बेला पानी नपरेकाले रोपाई प्रभावित भएकाले त्यहाँ १० देखि १२ प्रतिशत धान उत्पादन घट्ने अनुमान गरिएको हो ।
गत वर्षको तुलनामा रोपाइँको क्षेत्र खुम्चिएकाले उत्पादन पनि कम हुने मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन कुमार मेहताको अनुमान छ ।
‘धनुषा, सर्लाही र महोत्तरीमा ७० प्रतिशत मात्रै रोपाई भएको थियो,’ मेहता भन्छन्, ‘अरू जिल्लामा सामान्यतः ९० देखि ९५ प्रतिशत रोपाई भएता पनि तीन जिल्लामा कम रोपाई भएकाले उत्पादन घट्न सक्छ ।’
मधेस प्रदेशमा ४ लाख हेक्टर क्षेत्रफलमा रोपाई हुनुपर्नेमा ३ लाख ३१ हजार हेक्टरमा मात्रै रोपाई भएको छ । यस प्रदेशमा गत वर्ष ३ लाख ५३ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो, यसबाट १२ लाख ८१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्ष १३ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको थियो । सोबाट ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष भदौ १ गतेसम्ममा १३ लाख ७५ हजार हेक्टरमा धान रोपाई भएको थियो ।
मुलुक भरमा गरी ४१ लाख २१ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको सरकारी तथ्याङ्क छ । त्यसमध्ये ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा परम्परागत रूपमा कृषि कर्म हुँदै आएको छ । जसमध्ये १४ लाख हेक्टर क्षेत्रफल जमिनबाट वार्षिक ५१ देखि ५४ लाख मेट्रिक टन हाराहारीमा धान उत्पादन हुँदै आएको छ । १० लाख ३० हजार हेक्टर जमिन भने अझै पनि बाँझो छ ।