पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

वीरगंजका मेयर सिंह, स्थानीय प्रहरी र तस्करहरुको मिलेमतोमा भोडहा खोलाको दोहन(भिडियो सहित)

२०८१ भाद्र १३, बिहीवार १४:१६ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, स्थानिय प्रहरी र तस्करहरुसँगको मिलेमतोमा भोडहा खोलाबाट अवैध गिट्टी तथा बालुवा उत्खनन् र तस्करी शुरु भएको छ। 

भोडहा खोलाको आर्थिकवर्ष ७९/०८० मा संजय पटेलले आफ्नो फर्ममा लिएको ठेक्का ज्येष्ठ मसान्तमै समयावधी समाप्त भएको थियो। तर अहिले खोलाको ठेक्का पट्टा नै नगरी निर्विवाद रूपमा भोडहा खोलाबाट तस्करी भईरहेकोछ। तस्करी रोक्न प्रहरीले पनि कुनै चासो देखाएको छैन। 

विषेशगरी वीरगंज महानगरपालिकाको मिलनचौक वार्ड नं. ३१ मा पर्ने भएकोले वीरगंज महानगरपालिकाले विशेष ध्यान दिनुपर्ने थियो तर मेयर सिंहले अबैध रुपमा भैरहेको खोला दोहनमा मौनता देखाएका छन्। उनको यो मौनताले थप यो तस्करी रहस्यमय देखिएको छ। त्यसैगरी जिल्ला समन्वय समिति पर्साको अनुगमन समिति समेत मुकदर्शक बनेको छ । 

विपद व्यवस्थापन समितिले पनि अहिले वर्षातको समयमा खोला रेखदेख गरी त्यहाँको बेथितिलाई रोकथाम गर्नुपर्नेमा मौनता साँधेको छ। यसरी यी तिनवटै नियमनकारी निकाय चुपलागेर बस्नुमा तस्करहरुसँग मोटो रकम असुली गरि मिलेमतोमा खोला दोहन भैरहेको बुझिन्छ। 

यस सम्बन्धमा मिलन चौक स्थित प्रहरी चौकीका अ.स.ई बिनोदमान सिंहलाई सम्पर्क गरी यस विषयमा कुरागर्दा उनले हामीले रोक्दा रोक्दैपनी तस्करहरु गएर बालुवा र गिटी लोड गर्छन् भनेर गैरजिम्मेवारीपूर्ण जवाफ् दिएकाछन्।

तस्करी गरी ल्याईएका गिट्टी र बालुवाहरु वीरगंज जितपुर आसपासका क्षेत्रहरुमा बेच्ने गरिन्छ र उक्त तस्करीका बालुवा र गिट्टी ल्याउनु पर्दा स्थानीय चौकीको बाटो भएर नै स्थानीय बजारहरुमा पुग्ने गरेको छ। उता गाउँतिर लग्नुपर्ने भए स्थानीय चौकी बढनिहारको बाटो भएर गाउँतिर ती गिट्टी र बालुवा लग्ने गरिएको छ। तर बढनिहार प्रहरी चौकीका अ.स.ई संजय रामसँग यस विषयमा बुझ्न खोज्दा हामीलाई थाहा छैन र त्यो एरिया हाम्रोमा पर्दैन भनी बताएका थिए। 

यसरी भैरहेको अबैध खोला दोहनमा सम्बन्धित नियमनकारी निकायको मौनता, गिट्टी बालुवा तस्करको बिगबिगी, स्थानीय प्रहरीले तस्करहरुलाई दिएको सहजता सबै देख्दा आर्थिक चलखेलमा भोडहा खोला गैरकानुनी तरिकाले दोहन भैरहेको स्पष्ट बुझिन्छ। 

यस सन्दर्भमा स्थानीय सरकार प्रमुख मेयर राजेशमान सिंह जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरन्जन साह सोनार(अजय) र विपद व्यवस्थापन समिति पर्साका सिडिओ दिनेशसागर भुषालले अब उप्रान्त यो गहिरो विषयलाई कसरी लिने हुन भनी हेर्न भने बाँकी नै रहेको छ।

भोडहा खोलाको अबैध दोहनको दृश्य