पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

बिपतको बेला बिदेश भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा स्वदेश फर्किइन्

२०८१ आश्विन १८, शुक्रवार २०:५७ बजे

काठमाडौं- देशमा राष्ट्रिय बिपत्ति आइपरेको बेला अन्तर्राष्ट्रिय कुटनितिलाई बलियो पारेर आपत्तकालिन परिस्थितिको सामना गर्न भूमिका निर्वाह गर्नु पर्ने परराष्ट्रमन्त्री आरजु राणा देउवा कतारमा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई हालै मात्र स्वदेश फर्किएकी छन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभापछी कतार पुगेकी मन्त्री राणा देशमा भएको यस्तो भयावह बिपत्तिमा पनि स्वदेश नफर्किएर बिदेश भ्रमणमा रहिन्।  

यद्यपि उनले आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको दाबी गरेकी छिन्।

‘त्यहाँ स्पोर्टस् डिप्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरनियरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु’, उनले भनिन् ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढाउन, नेपालमा लगानी ल्याउन र नेपालको विकास गर्ने कामका लागि आफ्नो भ्रमण सफल भएको उनको थप दाबी थियो। 

अबिरल वर्षाका कारण देशभर बाढी, पहिरोमा परि झण्डै २४० को हाराहारीमा मानिसहरूको मृत्यु र २५ अर्ब भन्दा बढी धनको क्षति व्यहोरेको देशले राष्ट्रिय बिपत्तिको एकातिर सामना गरिरहदा गैर जिम्मेवारपूर्ण रहि मन्त्री राणा बिदेश भ्रमणमा रहिन्।

बिपत्तिमा भ्रमण रद्द गरेर देश भित्रको राष्ट्रिय बिपत्तिलाई बैदेशिक कुटनितिक मार्फत राहत र उद्दारमा सहजिकरण गरेर जनताको साथ रहनु पर्ने देशको अभिभावक यसरी बिदेश भ्रमणमा रमाउनु कति गैरजिम्मेवारीपूर्ण छ? जनताको मनमा यो गहिरो प्रश्न जमेको छ ।