पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बागमती प्रदेश सरकारबाट ५ करोड ८० लाख रुपैयाँ पालिकाहरूलाई उपलब्ध गराउने निर्णय

२०८१ आश्विन १९, शनिवार १५:०७ बजे

काठमाडौं- बाग्मती प्रदेश सरकारको शनिवार बसेको मन्त्रिपरिषदको बैठकले बाढीपहिरोबाट प्रभावित पालिकाहरूलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ पालिकाहरूलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले विपदबाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्।

बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित भएका पालिकाहरूलाई तीन वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको हो ।