पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

आज विश्व वातावरण दिवस मनाईंदै

२०८१ जेष्ठ २३, बुधवार ०७:२२ बजे

काठमाडौं- आज विश्व वातावरण दिवस मनाईंदै छ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ। 

दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ’, उनले भनेका छन्।

गुटेरसले दिगो विकासको लक्ष्य भेट्नका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ भनेका छन्।

उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्।