काठमाडौं- माओवादी केन्द्रले शनिवार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र विचौलियालाई जोगाउन बनेको केपी शर्मा ओली नेतृत्व सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुगेको बताएका छन् ।
माओवादी अहिले सत्ताको पक्षमा नरहेको प्रस्ट पार्दै प्रचण्डले अहिले कांग्रेस-एमालेसँग सहकार्य गरेर गल्ती गर्यौं भन्ने परेको सुनाए ।
सरकार ढालेको दोष आफूहरुलाई नदिन आग्रह गर्दै उनले भने, ‘हामीले खबरदारीसभा राख्नेबित्तिकै सत्तापक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधानविरोधी हुन्छ भन्ने होहोल्ला गरे । मैले प्रतिनिधिसभामै भनेको थिएँ, तपाईंहरुको सरकार पूरै अवधि चलोस्, माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन भनेर । तपाईंहरु पूरै चलोस् ।’
त्यस्तै, प्रचण्डले सरकार ढाल्न खबरदारीसभा नगरेको प्रस्ट पारे । अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको उनले दाबी गरे । माओवादीले खबरदारीसभा राखेपछि सरकार ढल्दैछ भन्ने आतंक बढेको भन्दै उनले अझै भ्रष्टाचार र बेथितितिर नजान चेतावनी दिए ।