पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

राष्ट्रिय हितका लागि संविधान संशोधन गर्नुपर्ने आवश्यकता आयाे : सभापति देउवा

२०८१ मंसिर १, शनिवार ०७:२२ बजे

डडेल्धुरा- सोमवारदेखि जिल्ला भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ।

डडेल्धुरामा नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले राष्ट्रिय आवश्यकता अनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गर्नुभयो । उहाँले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताउनुभयो । अरू दलहरूलाई पनि समेटेर दुई तिहाई पुर्‍याउने र संविधान संशोधन गर्ने सहमति भएकाे देउवाको भनाइ थियाे ।

गठबन्धन भत्किने कुराहरू आमसञ्चार माध्यमबाट सुन्ने गरेको भन्दै सभापति देउवाले त्यस्तो नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेसबाट गठबन्धन फुट्ने कुराहरू मैले पनि सुन्छु । प्रेसमा मात्रै छ । अरू कही छैन ।” यो गठबन्धन २०८४ सम्मै जान्छ भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भन्नुभयो, “दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो । त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा । मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ ।”

वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको सभापति देउवाको भनाइ थियो । “हाम्रा साथीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बयानहरू लिइरहेको छ,” उहाँले भन्नुभयो, “यसमा कुनै राजनीतिक प्रतिशोध छैन । प्रहरीले कानुनबमोजिम काम गरिरहेको छ।”

सहकारीमा दोषी भएका जो कोहीलाई पनि नियमअनुसार कारबाही गरिनुपर्ने बताउँदै सभापति देउवाले शिवशिखर सहकारीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको सवालमा बदमासी गर्नेलाई कारबाही गरिने र बचतकर्ताले आफ्नो वचत पाउने बताउनुभयो । देउवा मङ्सिर १ गते लाग्ने उग्रतारा मेलापश्चात् मात्रै काठमाडौँ फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।

“देशभर पूर्वाधारहरू बनिसकेका छैनन्, ठाउँठाउँमा सडकहरू बनाउन अझै बाँकी छ,” सभापति देउवाले भन्नुभयो, “सिँचाइको व्यवस्था भएको छैन, बिजुली पुगेको छैन । आवश्यक भौतिक पूर्वाधारका संरचनाहरू निर्माण गर्नुपर्छ ।”रासस