काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको कृषि मन्त्रालयका पूर्वसचिव डा नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन सचिव नम्रता सिंह, वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल र सहलेखापाल ब्रजेशकुमार साहविरुद्ध एक करोड रूपैयाँ हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ। आयोगले उनीहरूले मिलेमतोमा कृषि अनुदान घोटाला गरेको अनुसन्धानबाट निष्कर्ष निकालेको छ।
पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ विकासकुमार साहले पनि यस प्रकरणमा संलग्न रहेको अख्तियारको अभियोग छ।
यस्तै युवरानी मत्स्य तथा कृषि फार्म प्रालि, औरही, महोत्तरी र उक्त फार्मका सञ्चालक लक्ष्मीनारायण यादव पनि भ्रष्टाचार मुद्दामा अभियुक्त कायम भएका छन्।