पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

यू–१९ विश्वकप क्रिकेटः आज न्यूजिल्याण्ड संग भिड्दै नेपाल

२०८० माघ ७, आइतवार ०८:५१ बजे

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको समाना गर्दैछ ।
नेपाल र न्यूजिल्याण्डको खेल नेपाली समयानुसार आइतबार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ । नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो ।
नेपाल सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो । सन् २०१६ को विश्वकपमा नेपालले क्वार्टरफाइनल सम्मको यात्रा तय गरे पनि अन्तिम ८ को खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

यो विश्वकपमा भने नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् ।
विश्वकप अगाडि नेपालले ४ वटा अभ्यास खेल खेलेको थियो । नेपालले स्कटल्याण्ड र नामिबियालाई हराएको थियो भने वेस्ट इन्डिजसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।