काठमाडौं- नेपालको चुच्चे नक्सा अंकित नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।
यसै बीच नेपाल राष्ट्र बैंकले भने चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो ।
आइतवार एक सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल टेन्डरमा चिनियाँ कम्पनीले ठेक्का प्राप्त गरेपछि कम्पनीसँग आशयपत्र माग गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन नेपाल राष्ट्र बैंकले नै गर्दै आएको छ । तर, नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्ने भएमा नेपाल सरकारको स्वीकृत लिनुपर्ने व्यवस्था छ । सोही अनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो ।
अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो ।
१०० दरको ३० करोड थान नोटको डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र माग गरेको छ । ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त नोट छापिने छन् । हालको विनियम दर (१ अमेरिकी डलर बराबर १३४ रुपैयाँ ८४ पैसा) अनुसार १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ खर्चमा १०० रुपैयाँका नयाँ छापिएर आउनेछन् । जस अनुसार १०० रुपैयाँ दरको एउटा नोट छाप्न ४ रुपैयाँ ०४ पैसा लागत पर्ने देखिएको हो ।
नोट छपाइमा बर्सेनी बाहिरिने ठूलो रकम जोगाउन राष्ट्र बैंकले यो वर्ष दसै तिहारका लागि नयाँ नोट नसाट्ने निर्णय नै गरेको थियो । सोही निर्णयका कारण नयाँ नोट छपाइमा हुने राज्यको अबौं रुपैयाँ खर्च जोगिएको थियो ।
यद्यपि हाल सम्म पनि भारतले आफ्नो भूमि भनेर दाबी गरिरहेको दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालले जारी गरेको उक्त नक्सालाई लिएर भारतको विरोध कायमै छ।