पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

हरितालिका तीजको दिन मकवानपुरको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो

२०८१ भाद्र २१, शुक्रवार १५:२० बजे

मकवानपुर- आज हरितालिका तीजको दिन मकवानपुरको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । 

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

करिब हजारौंको सङ्ख्यामा उपस्थित महिला भक्तजनहरुको घुइँचो बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजाको लागि जम्मा भइ तीजको गीतमा नाचगान गरेर हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन्।

धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले आइतवार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।