पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

चिनीको अभाव हुन नदिन तीन हजार मेट्रिकटन चिनी बजारमा पठाइयो

२०८० कार्तिक १७, शुक्रवार ०८:३१ बजे

काठमाडौं : तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ ।
विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
बिहिबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी दिए ।
सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ बिक्री गर्नेछन् ।
सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उनको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।
वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताए । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उनले जानकारी दिए ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको विभागका महानिर्देशक चिलुवालले जानकारी दिए ।