पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

कविता - ऊ ईश्वर फुटाइरहन्छे

२०८१ श्रावण २६, शनिवार ०९:०१ बजे

कविता 

ऊ ईश्वर फुटाइरहन्छे 

        - सिमा आभास 

जून–घामलाई नानीको बाउ भनेपछि

अपराधीलाई झैँ घरबाट निकालिएकी

गाउँबाट विस्थापित ऊ

नदीकिनारमा ताराहरु जम्मा पारेर

गट्टा खेलाउँछे नानीलाई

पानी खुवाउँछे जूनको कचौराबाट

सूर्यमण्डल बनाउँछे उसले खेल्ने भकुन्डोलाई ।

 

नानीकै मुहारबाट उदाउँछ घाम

ऊ रुँदा होस् या खुसी हुँदा

बन्छन् देवताका हजार रूप ।

 

पहिलो पटक

कुन कालिगढले कुँद्यो होला भगवान् ?

कुन भक्तले, कुन मितिमा, चढायो होला फूल ?

कसले राख्यो होला चुपचाप बस्नू भनेर मन्दिरमा ?

 

बालक चन्द्रमालाई छातीमा टाँसेर सोध्छे,

यो पत्थरमा लुक्ने भगवान्

कहिलेसम्म बाँचिरहन्छ, मान्छेको शरणमा ?

 

सलसली हुर्किरहेको यस जूनलाई

बादलको मजेत्रो ओढाएर

इन्द्रेणीले पिठ्यूँमा बाँधेर

घामको डल्लो फुटाउन हम्मर उचाल्छे

हम्मरले फुटाएका पसिनाका बुँदहरु जमाएर

गिट्टी बनाउँछे ।

 

गिट्टीकै आकारजत्रा ठेला हत्केलामा उठाएर

मन्दिर बनाइने ढुङ्गा

रोसी थाकेर बगरमै छोडिएका ढुङ्गा

भगवान् पुजिने अनेकौँ ढुङ्गा

गिट्टी बनाएपछि

यो निर्जन दुनियाँ भन्ने गर्छ

ऊ ईश्वर फुटाइरहन्छे ।