तस्विर: विश्व राई
नियात्रा
हिमाल हेर्दै मुक्तिनाथतिर
- रमेशमोहन अधिकारी
मुक्तिनाथको यात्रा गर्ने कुरो घरमा चलेको निकै वर्ष भइसकेको थियो । यस यात्राको कुरो चाहिं पर्यटकीय दृष्टिले भन्दा पनि सांस्कारिक दृष्टिले गर्ने सन्दर्भमा आएको थियो । मलाई पनि कोरोना र लकडाउनका कारणले दुई वर्ष हिंडडुल गर्न नपाएकाले छटपटी भइरहेको थियो । संस्मरणकार अप्सरा पुडासैनी पनि कतै न कतै जाऔं भनेर कर गरिरहनुभएको थियो ।
मुक्तिनाथका बारेमा धेरै हल्लाहरु पनि थिए । 'मुक्तिनाथसम्म गाडी जान दिइदैन । अलि वरै गाडीहरु रोकिन्छन् । त्यसपछि भाडाको बाइकमा जानुपर्छ । त्यो बाइक जाने बाटो पनि राम्रो कहाँ छ र ? ढुङ्गै ढुङ्गा, बगरै बगर जानुपर्छ । यताको मान्छेले न बाइक लग्न पाउँछ, न त्यहाँ बाइक हाँक्न सक्छ ।' 'अचेल त मोटर पनि जान्छ रे तर हाम्रो मोटर त्यहाँ लग्न पाइन्न रे । 'घोडा चढेर जाने प्रावधान पनि छ रे' आदि आदि ।
तीर्थ जाँदा र श्राद्ध गर्दा दाजुभाइ सँगै जानू' भन्छन् । यसै पनि दाजुभाइ सँगै डुले हुने हो । हाम्रो भने ताल मिलिरहेको थिएन । यसपालि चाहिँ माहिलो दाजु तयार नभए पनि सान्दाजु चन्द्रमोहन जान तयार हुनुभएको थियो । यसो हुनाले सके अरुलाई पनि जोडौं, नसके हामी मात्रै भए पनि जाऔं भन्ने कुरो भयो । कुरा गर्दै गर्दा त साना चार गाडी मान्छे हुने भए । अन्त्यमा अरु सामसुम्म भए । हाम्रो तीन जोडी मात्र जाने भयो । त्यसो हुनाले गाडी खोज्ने जिम्मा अप्सरापति गणेश मैनालीलाई दिएँ ।
सान्दाजुको अफिस चाँडै खुल्ने हुनाले चाँडै जान पर्ने भयो र हामी एकादशीकै दिन हिंड्न सहमतियाँ । यसै बमोजिम २०७८ असोज ३० गते सान्दाजु जोडी चन्द्रनिगाहपुरबाट र हामी चार जना हेटौंडाबाट गाडी चढ्यौं । कार्यक्रमको सम्पूर्ण मेसो मिलाउँदा हामी बिहान ११ बजे मात्र हिंड्न भ्यायौं ।
यहाँबाट छुटेको स्कोर्पियो मर्स्याङ्दी तरेर आँबु खैरेनीतर्फ लाग्यो । मनकामना उक्लेर जानुपर्ने अवस्थामा २०५९ सालमा म आँबु खैरेनीमा एक रात बसेको थिएँ। अनौठो खालको नाम हुनाले म २०४३/२०४४ देखि यस नामको मोहमा परेको छु। कुनै बेला शिक्षण वा अन्य क्षेत्रका प्रतियोगिताहरुमा समेत यहाँका युवाहरुसँग भेट हुने गरेको थियो ।
आँबु खैरेनीबाट अघि बढेपछि भने जाम हुन थाल्छ । साँघुरो पक्की सडक अनि गाडीको भिड जामका कारक हुन् । पोखरा जाने यस्तो व्यस्त मार्गका बारेमा सरकारले ध्यान नदिएकै भन्नुपर्छ । हाम्रो जस्तो अर्को सत्तामा भएको देख्न मन नपराउने र किचलो मन पराइरहने संस्कार भएको देशमा दुर्घटनाका कारक हुन सक्ने साँघुरा सडकतर्फ सरकारको ध्यान नजानु स्वाभाविक पनि छ ।
अँ, यहाँको जाम छिचोल्दै हामी दमौली र व्यास हुँदै पोखरा पुग्छौँ । हेटौंडाबाट पोखरा पुग्न छ घण्टा लाग्ने रहेछ । 'पाँचै बजे त के बास खोज्नु' भनेर अगाडि बढ्ने कुरो हुन्छ । पोखरा पस्नासाथ उत्तरपट्टि देखिएका हिम शृङ्खलाहरुले लट्ठ पार्छन् । तराईमा घर हुनाले हिउँदमा मौसम सफा रहेका बेला विद्यालय नजिकैबाट हिमाल त देखिन्थ्यो तर यहांका हिमाल मेरो घरबाट देखिने जति टाढा छैनन् । यी हिमालहरु हातै तन्काए पनि भेटिएलान् जस्ता लाग्छन् । उडेरै हिमालमा पुगें र हिमाललाई छोइहालू जस्तो गराउँछन् । मानौं ती हिमालहरु कयौं वर्षदेखि मेरै प्रतीक्षामा छन् ।
नेटबाट केही कुरा बुझे पनि यस बाटाका बारेमा खास थाहा छैन हामी कसैलाई । हामी त पहिलोपल्ट जान लागेका, कुरै सकियो तर ड्राइभर पनि नयाँ । सोध्दै अगि बढ्छौं पोखराबाट । पोखराबाट अगि बढ्दा साँगुरो बाटो होला भन्ठानेको त के हुन्थ्यो। म्याग्दी जिल्ला प्रवेश गर्दा त झन् फराकिलो लाग्ने सुन्दर बाटो पो देखिन्छ । आफैलाई धिक्कार्छौ यति सुन्दर स्थानहरुका बारेमा हामी कति भ्रमित रहेछौं ? हामी सानो छंदा बाकसमा सिनेमा ल्याउने फिरन्तेले भने जस्तै हामी त 'घर बैठे बैठे सारा संसार देखो' लाई अपनाउने भइसकेका रहेछौं । अन्जु भन्छिन्, 'म्याग्दीका सांसद विकासप्रेमी रहेछन् ।' मलाई पनि उनको कुरो सही लाग्छ । म सही थाप्छु र भन्छु 'नेपालको विकासका लागि मरिहत्ते गर्ने वैज्ञानिक महावीर पुन यही जिल्लाका हुन् । जति ताप्लेजुङको पाथीभरा उक्लँदा मलाई आँखाका डाक्टर सन्दुक रुइत र मेरा आत्मीय मित्र साहित्यकार रविमान लमजेलको सन्निकटता महसुस गर्दा आनन्द लागेको थियो, उसैगरी म यहाँ महावीर पुनलाई सम्झेर गौरवबोध गर्छु ।
समयसँगै अँध्यारो बढ्छ । गाडीले पनि त्यो फराकिलो र सुन्दर बाटो छोड्छ र साँघुरो जस्तो लाग्ने ग्याभेल बाटो रोज्छ । बाटामा गाडी बिग्यो भनेर गाडी रोक्छन् ड्राइभर । प्राविधिक ज्ञान पनि कमजोर हो कि ड्राइभरको । अर्का ड्राइभरलाई गुहार्छन् र उनले पाँच मिनेटमै बनाइदिन्छन् । यसपछि अगि बढ्ने अर्थात् नयाँ पुल वा कुस्मा पुगेर बस्ने योजना पनि हराउँछ हाम्रो र नौडाँडाको एभरेस्ट होटल एन्ड लजमा रोकिन्छौँ हामी ।
मलाई विकल्पहरु धेरै भएका ठाउँमा मात्र बास खोज्नुपर्छ जस्तो लाग्छ । नभए जस्तो पनि खानुपर्छ, जस्तोमा पनि सुत्नुपर्छ र जतिसुकै तिर्नुपर्छ भन्ने लागिरहेको हुन्छ र एक्लो होटेल भएका ठाउँमा रोकिंदा अलिकति ड्राइभरसँग र अलिकति सान्दाजुसँग रिस उठ्छ । म दिक्क मान्दै ओर्लन्छु तर म आत्तिएको जस्तो रहेनछ यो होटल । हामी गएपछि मात्र खाना बसालेका हुनाले अलि ढिलो त हुन्छ तर खाना मिठो छ, सुताइ व्यवस्थापन पनि ठिक छ र त्यसमाथि वाइफाई पनि । राति मस्त सुत्छौं र बिहानीपख चिया पिएपछि केही सामूहिक र व्यक्तिगत फोटा लिएर अगि बढ्छौँ ।
त्यसपछि आउने रहेछन् कुस्मा, पर्वत बेनी, म्याग्दी बेनी र गलेश्वर । हामी यी ठाउँहरुमा कतै नरोकिई अगि बढिरहन्छौं । गलेश्वरदेखिको बाटो भने अलि अप्ठ्यारो रहेछ । तिप्ल्याङको. एउटा होटलमा खाना खान्छौँ । होटलवालाको व्यवहार ठिकठिकै लाग्छ र खाना पनि ठिकठिकै । यहीं नजिकमै रहेछ तातोपानी तर यहाँ पनि हामी रोकिन्नौं । साना झरनाहरू पनि छन्, ठुला झरनाहरु पनि छन् । झरनाहरु यसै सुन्दर हुन्छन्, त्यसमाथि बिहानको कलिलो घाम पर्दा ती सप्तरङ्गी देखा पर्दा रहेछन् । मैले थुप्रै झरनाहरु देखेको थिएँ, हेरेको थिएँ तर कहीं पनि झरनामा इन्द्रेणी देखेको थिइनँ ।
ससाना भरनापछि आइपुग्छ एउटा ठुलो झरना। ओर्लेर फोटो लिन मन लाग्छ तर आजको गन्तव्य जोमसोम हुनाले र बाटाको अङ्कल हामीलाई नहुनाले अगाडि बढिरहन्छौँ । अझ अगाडि बढेपछि आइपुग्छ नेपालकै चर्चित झरना रूप्से । आहा। क्या सुन्दर । माथिबाट तह तह परेर ह्वालह्वाल बगिरहेको रूप्से । कति हेरुँ । गाडीहरु लस्करै रोकिएका छन् साइड लगाएर र फोटो खिचिरहेका छन् सौन्दर्यका पारखीहरु मग्न भएर । हामी भने नओर्लीकनै सौन्दर्यपान गर्दै अघि बढ्छौं गन्तव्य ताकेर । फर्केर आउँदा गाडी एकछिन रोकेर अघाउँजी हेरौंला भन्ठान्छौँ तर के हुन्थ्यो । हामी अलिकति बढ्नासाथ जाममा पछौँ । त्यो ठाउँ रहेछ काभ्रे अर्थात् बाँदर लड्ने भिर। यही रहेछ म्याग्दी र मुस्ताङ जिल्लाको सिमाना पनि । यहाँ आइपुग्दा अर्को भ्रम हट्छ मेरो । मलाई मुस्ताङको गाह्रो बाटामा कति चल्दा होलान् र गाडी । कतै कतै एक दुईओटा फाट्टफुट्ट भेटिएलान् जस्तो लाग्थ्यो । ठुलो भ्रममा रहेछु म ।
सयौं गाडीहरु छन् जाममा । हजारौं मानिसहरु छन् र एक किलोमिटरभन्दा लामो लर्को छ गाडीहरुको। बस, जिप, कार, बाइकहरु टाँसिएरै जस्तो गरी लाम लागेका छन् । यात्रुहरु कोही गाडीमै र अधिकांश ओर्लेका छन् । जामको समय कटाउनु छ सबैलाई । कतिखेर गाडीहरू खुल्लान् भन्ने उत्कण्ठा छ सबैलाई । आफ्नो मात्र गाडी बढे पनि अलि पर पुग्न पाइन्थ्यो भन्ने लागेको छ सबैलाई।
अगाडि सानो पहिरो गएको छ र एक्साभेटरहरु खटिरहेका छन् छिटो जाम खुलाउन । प्रहरीहरु पनि आइपुगेका छन् कताबाट हो। एउटा मात्र लरतरो होटल छ । सबैको माग सम्बोधन गर्न सक्दैन पक्कै यसले र पनि सेवारत छ अप्ठ्यारोमा परेका यात्रुहरुका लागि । सौहार्द लाग्छन् होटलवाला र यात्रीहरु सबै । कालीगण्डकी पारि भलिबल खेलिरहेका छन् कोही । यता रोकिनुपरेर भुटभुटिएका छौं हामी भने ।
तीन घण्टापछि बल्ल बाटो खुल्छ र स्वार्थको खेल सुरु हुन्छ । जोमसोमबाट आउने यात्रुहरु आफूहरु पहिले जाने भनेर किचलो थाल्छन् । हामीपट्टिका यात्रीहरु मान्दैनन् । अन्त्यमा जोमसोम जाने गाडी चल्ने सहमति भएर हामी अगि बढ्छौं । बाटो खुलाए पनि अप्ठ्यारो हुनाले गाडी मात्र अगि बढ्नुपर्ने हुन्छ । त्यसो हुँदा हाम्रा ड्राइभर गाडी हुँइक्याएर अलि परै पुऱ्याउँछन् । साइड नभएको पहाडी उकालो बाटो एक सवा किलोमिटर हिंड्नुपर्दा हाम्रा श्वासप्रश्वासका बिरामीहरुलाई भने अलि अप्ठ्यारै हुन्छ ।
जे होस्, यहाँबाट अगाडि बढेपछि मूलतः पक्की बाटो छ । पिच रोड, स्ल्याब, पिच रोड, स्ल्याब गर्दै हामी बेलुका ७:३० मा जोमसोम पुग्छौं ।