पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’, सुरुङ भित्रै प्रधानमन्त्रीलाई रातो कार्पेट र सोफाको व्यवस्था

२०८१ वैशाख ३, सोमवार १५:४२ बजे

काठमाडौं- नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु भएको हो । 

उक्त कार्यक्रममा सुरुङ भित्रै रातो कार्पेट बिछ्याएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोफामा बस्ने व्यवस्था मिलाइएको थियो। साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको पनि उपस्थिति रहेको थियो। 

चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ ।

आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडान लगायतका काम बाँकी छ ।

सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो । सुरुङमार्ग अन्तर्गत तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा-सिस्नेरी सुरुङमार्ग आयोजनाले जनाएको छ ।

सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो । नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेट मै धादिङको सिस्ने खोला पुगिनेछ । मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ ।