जलेश्वर सर्राफ
वीरगंज- वीरगंजका बहुचर्चित किर्ते नागरिकता मुद्दामा आफू जोगिन रिता भट्टराईलाई प्रयोग गर्दै महानगरपालिकाका वर्तमान नगर प्रमुख राजेशमान सिंह बिरुद्ध दायर गरेको अंश र सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालत पर्साले खारेज गरिदिएको छ।
यसअघि मेयर सिंहले आफुलाई आफ्नो श्रीमान हो भनेर सिकाउँदै जिल्ला अदालत पर्सामा अंश तथा सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएका थिए। रिता भट्टराईले समेत त्यही अनुसार आफ्नो श्रीमान दावी गर्दै उनको दोस्रो पत्नीको दर्जामा आफुलाई राखेर दायर गरेको अंश र सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालत पर्साको ५ नम्बर इजलासका न्यायाधीश प्रमेश पोखरेलको इजलासले खारेज गरेको हो।
हाम्रो शारीरिक सम्बन्धबाट जन्मेकी रुबिना श्रेष्ठ र मेयर राजेशमान सिंहसँग पति नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले २०८० माघ २८ गतेका दिन अंश र सम्बन्ध विच्छेद मुद्दा दायर गरेकी थिइन् । तर, दायर मुद्दाका सन्दर्भमा दाबी पेश गर्न निवेदक र विपक्षी दुवै उपस्थित नभएपछि अदालतले उक्त मुद्दा खारेज गरिदिएको हो ।
जिल्ला अदालत पर्साका सूचना अधिकारी अमृत मिश्रले मुद्दाका निवेदक र विपक्षी दुवै पक्ष मागदाबीका लागि उपस्थित नभएपछि मुद्दा खारेज भएको हो भनेर बताएका छन्।
अदालतमा दाबी विरोध केही पनि नआएपछि अब मुद्दामा उठान गरिएको विवादको निरुपण अदालतबाट हुन नसक्दा उक्त मुद्दा फेरि पुरानै अवस्थामा यथावत् रहेको रुपमा बुझ्नु पर्ने उनले बताएका छन्।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका-१० स्थायी ठेगाना भएको हाल काठमाडौँ हाँडीगाउँ बस्दै आएकी भट्टराईले जिल्ला अदालत पर्सामा दर्ता गराएको उक्त फिराद पत्रमा राजेशमान सिंह आफ्नो श्रीमान भएको स्वीकार गरेकी थिइन् ।
तर,नेपाल सरकारको कुनै पनि सरकारी रेकर्डमा मेयर सिंह र भट्टराई बीच श्रीमान् श्रीमती नाता कायम भएको नदेखिएको पुष्टि भएको छ। रिता भट्टराईले मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको र सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गर्दै आफ्नो शरीरबाट जन्मेकी छोरीको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात मेयर राजेशमान सिंहले नै बनाइदिएको स्विकार्दै आफू उनको पत्नी भएको तथ्य स्थापित भएको यसअघि उक्त फिराद पत्रमा रिता भट्टराईले दाबी गर्दै अंश मुद्दा तथा सम्बन्ध विच्छेद मुदा दर्ता गराएकी थिइन्। ।
‘प्रतिवादी राजेशमान सिंहको प्रकाशमा रहेकी पत्नी अन्नपूर्ण मानन्धर नै रहेतापनि म फिरादी रिता भट्टराईले प्रेम विवाह गरेका कारण उक्त प्रेम विवाह प्रकाशमा नल्याएर मेरो उदार अर्थात (शरीर) बाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र तथा नागरिकता निवेदनबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ भनेर उक्त फिराद पत्रमा उल्लेख गरिएको थियो।
मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने उल्लेख छ । सोही कानुन अनुसार प्रतिवादी राजेशमान सिंह आफ्नो पति प्रमाणित हुनुपर्ने भट्टराईले दावी गरेकी थिईन ।
आफूसँग नाता कायम नै नभएकी रुबिना श्रेष्ठलाई बाबु बनेर दिलाएको नागरिकताको सवालमा मेयर राजेशमान सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग २०८० माघ २७ गते आफूले बहुविवाह गरेको बयान दिएका थिए । रुबिना श्रेष्ठको नागरिकता किर्तेमा फस्ने डरले गलत बयान दिएको भोलिपल्टै जिल्ला अदालत पर्सामा भट्टराईले स्वतः पति नाता कायम रहेको दाबी गर्दै अंश र डिभोर्सको मुद्दा दायर गरेकी थिइन्।
मेयर सिंहले बहुविवाह स्वीकार गर्नु, त्यसको भोलिपल्टै पति दाबी गर्दै भट्टराईले अंश र डिभोर्स मुद्दा दायर गर्नु, रिता भट्टराईको सम्पर्कमा आउनुपूर्व नै उनकी छोरी रुबिना श्रेष्ठ हुनु र पञ्जिकरण अधिकारीको नक्कली हस्ताक्षर गरेर जन्मदर्ता बनाएको खुलासा पाठशाला न्युजले उजागर गरेसँगै वीरगंज महानगरका मेयर राजेशमान सिंहको भूमिका थप शंकास्पद बनेको थियो। र वीरगंजका मेयरका किर्ते किर्तेनागरिकता विवाद चुलिएको थियो।