पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

आज घटस्थापना बडादशैंको पहिलो दिन जमरा राखिने

२०८१ आश्विन १७, बिहीवार ०८:०३ बजे

काठमाडौं- हिन्दुहरूको महान चाड बडादसैं आज देखि सुरु भएको छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित जमरा राखि आज घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका छन् ।

दशैं हिन्दू धर्मावालम्बीको चाड भनिए पनि अहिले सबै नेपालीले मनाउने गरेका छन् । यस्तै अहिले विभिन्न काम विशेष र प्रयोजनले लाखौं नेपाली विभिन्न देशमा पुगेका छन् । तर जहाँ पुगेपनि जहाँ रहे पनि नेपालीलाई दशैं र त्यसमा पनि जमरा मोहले छोड्दैन । पहेंलो जमरा सिहुरिएपछि बल्ल दशैं आएको महसूस हुने भएकोले परदेशमा एक्लै बसे पनि जमरा राख्न मनपराउन धेरै छन् । त्यसैले दशैंको जमरा कसरी राख्ने भन्नेबारेमा यहाँ चर्चा गरिएको छ ।

जमराको महत्व

दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू) का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैं मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ ।

जमरा कसरी उमार्ने ?

जौको जमरा उमार्नका लागि शुद्ध एवं अग्र्यानिक बिजको प्रयोग गर्ने । सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुपर्छ । अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ । एक हप्तासम्म एक–एक वटा गमलामा यसरी नै बिज रोप्नुपर्छ । सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ । गमलामा हरेक दिन पानी हाल्नुपर्छ । तर यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन । गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।