रौतहट- डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले २ थान भरुवा बन्दुक र २० थान खयर काठको डमरुसहित एकजनालाई पक्राउ गरेको छ।
चन्द्रपुर नगरपालिका ३ मा पर्ने चुरे क्षेत्रको ख्याकु गाउँबाट बन्दुक र वनबाट अवैध कटानी गरी ल्याएको खयर काठको डमरुसहित कान्छामान जिम्बा पक्राउ परेका हुन् ।
ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका जिम्बाको गोठमा डिभिजन वन कार्यालयको गस्ती टोलीले छापामारी गर्ने क्रममा दुई थान भरुवा बन्दुकसमेत फेला परेपछि जिम्बालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिएका छन्।
आरोपी नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।