पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

कोभिडको नयाँ भेरिएन्टले तीन रक्तसमूहलाई उच्च जोखिम

२०८० आश्विन १५, सोमवार १०:०५ बजे

काठमाडौं–कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको विकासले गर्दा अझै विश्वभर त्रासको वातावरण छ । प्रायः मुलुकका सरकारले कोरोना भाइरसको बारेमा विभिन्न दिशानिर्देशसमेत जारी गरेका छन् । यसै बीच भारतमा यससम्बन्धी एक अध्ययन भएको छ । यस अध्ययन अनुसार केही निश्चित रक्तसमूह भएका व्यक्तिहरूमा कोरोनाको जोखिम बढी हुने पाइएको छ ।
दिल्लीको सर गंगाराम अस्पतालले गरेको अध्ययनमा यो खुलासा भएको हो । यस अध्ययन अनुसार ए ब्लड ग्रुप, बी ब्लड ग्रुप र आरएच पोजिटिभ भएका मानिसमा कोरोनाको जोखिम बढी हुन्छ । तर एबी ब्लड ग्रुप, ओ ब्लड ग्रुप र आरएच नेगेटिभ भएकाहरूलाई कोरोनाको जोखिम कम हुन्छ । यसबाहेक अध्ययनबाट कोरोनाको बारेमा अन्य धेरै महत्वपूर्ण कुराहरू पनि जानकारीमा आएका छन् ।
अस्पतालको अध्ययनले के भन्छ ?
गंगाराम अस्पतालद्वारा गरिएको अध्ययनमा सन् २०२० अप्रिल ८ देखि अक्टोबर ४ (६ महिना) को बीचमा अस्पतालमा भर्ना भएका २,५८६ कोभिड पोजिटिभ बिरामीहरूलाई समावेश गरिएको थियो । यसमा ए, बी, ओ र आरएच रक्तसमूहहरू कोभिड–१९ को संवेदनशीलतासँग सम्बन्धित भएको देखियो ।
फ्रन्टियर्स इन सेलुलर एन्ड इन्फेक्सन माइक्रोबायोलोजीमा यो शोधपत्र प्रकाशित भएको छ, जसअनुसार विभिन्न रक्तसमूहमा कोरोनाको फ्रिक्वेन्सी रिपोर्ट गरिएको छ ।
ए रक्तसमूहको आवृत्ति २९.९३ %
बी रक्तसमूहको आवृत्ति ४१.८ %
ओ रक्तसमूहको आवृत्ति २१.१९ %
एबी रक्त समूहको फ्रिक्वेन्सी ७.८९ % थियो ।
यो अनुसन्धान अस्पतालको ब्लड ट्रान्सफ्युजन मेडिसिन अनुसन्धान विभागले गरेको हो । यसमा विशेष गरी आरएच कारकको बारेमा पनि कुरा गरिएको छ । आरएच एक प्रोटिन हो, जुन रातो रक्तकोशिकाहरूको सतहमा हुनसक्छ । जसको रगतमा यो हुन्छ उनीहरुलाई आरएच पोजिटिभ र नहुनेहरुलाई आरएच नेगेटिभ भनिन्छ । यसले यो पनि बताउँछ कि कुन मानिसमा कोभिड–१९ को जोखिम बढी छ र कुन कम ।

अनुसन्धानको अन्त्यमा यो निस्कर्ष निकालियो कि ब्लड ग्रुप ए र बी भएका वा जोसँग आरएच पोजिटिभ तत्व छ उनीहरूलाई कोभिड संक्रमणको बढी सम्भावना हुन्छ । जबकि ओ, एबी रक्तसमूह भएका वा रगतमा आरएच तत्व नभएका मानिसमा कोरोनाको जोखिम कम हुन्छ ।