पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

मिसेस नेपाल वर्ल्ड, २०२४ को उपाधि डेनिला कार्कीलाई

२०८१ कार्तिक १२, सोमवार ०७:०३ बजे

काठमाडौं- विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड, २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन्।प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्करराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेतृ उषा रजक, श्रीकेश तेलका अध्यक्ष टीकाराम बुढाथोकी रहेका थिए।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि चुम्न सफल भएकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले फाइनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले उपाधिसँगै स्कुटर पनि पाएकी छिन्। यससँगै उनी आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछिन्। 

प्रतियोगितामा एलिना घिमिरे दोस्रो, किरण कार्की दोस्रो र अनु कार्की तेस्रो हुन सफल भए। यसै गरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गरे । दुई विजेताले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने अवसर पाउनेछन्। सोही समारोहमा नेपालकी अग्रज कलाकार वसन्धुरा भुसाललाई छ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्याएबापत मानार्थ मिसेस नेपाल वल्र्ड सम्मान–२०२४ बाट सम्मानित गरिएको थियो । माइती नेपालकी अध्यक्ष कोइराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, नृत्य निर्देशक अश्विनीकान्त झालगायतले भुसाललाई सम्मान प्रदान गरेका थिए।