पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

यी हुन् काठमाडौंबाट पुर्व जाने बैकल्पिक मार्गहरू

२०८१ आश्विन १९, शनिवार ०८:१२ बजे

काठमाडौं- हाल यात्रुले काठमाडौंबाट हेटौंडा पुग्नका लागि चन्द्रागिरी-चित्लाङ-पालुङ-भैंसे मार्ग प्रयोग गर्न सकिन्छ । यस मार्गले पहिरोको प्रभाव नभएकोले यात्रुको लागि सुरक्षित विकल्प भएको छ । त्रिभुवन राजपथ अर्को विकल्पका रूपमा खुला छ, जसले थानकोट-चन्द्रागिरी-चित्लाङ-पालुङ-सिमभञ्ज्याङ-भैंसे हुँदै हेटौंडा पुर्‍याउँछ । यो मार्ग काठमाडौं-नारायणगढ-हेटौंडा भन्दा लामो भए पनि सुरक्षित यात्रा गर्न सकिन्छ ।

यस्तै ठूला रात्रीकालीन बसहरू पनि काठमाडौं-नारायणगढ-हेटौंडा रुटमा सञ्चालनमा छन् । यो मार्गमा केही लामो दूरी भए पनि यात्रुहरूको लागि वैकल्पिक मार्ग भएकोले यात्रुहरूले यसलाई बढी प्राथमिकता दिइरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कान्तिलोकपथको घपेली-बगुवा खण्डमा १३ किलोमिटर सडकमा ठूलो क्षति पुगेको छ । बागमती पुलमा पनि क्षति पुगेकोले यस मार्गको मर्मत तथा पुनःसञ्चालनमा केही समय लाग्ने बताइएको छ । यद्यपि मन्त्रालयले बागमती पुलको एप्रोच छिटो निर्माण गरी सवारी साधन सुचारु गर्ने लक्ष्य राखेको छ ।

हेटौंडाबाट पूर्व यात्रा गर्न सकिने मार्गहरू

हेटौंडाबाट पूर्वी नेपाल जानका लागि यात्रुले दुई प्रमुख राजमार्गहरूको प्रयोग गर्न सकिन्छ । ती हुन् मदन भण्डारी राजमार्ग (हेटौंडा-सिन्धुली-चतरा-धरान) र पूर्व पश्चिम राजमार्ग । यी दुवै राजमार्गहरू हाल सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । यसले यात्रुहरूलाई पूर्व यात्रा गर्न सहज बनाएको छ ।

काठमाडौं-हेटौंडा मार्गमा पहिरो र बाढीको असरले धेरै कठिनाइ उत्पन्न गरेको छ तर, विकल्पमार्फत यात्रा गर्न सकिने मार्गहरू खुलेकोले यात्रुले केही सहजता पाएका छन् । त्रिभुवन लोकपथ, चन्द्रागिरी-चित्लाङ मार्गहरू हालका लागि प्रमुख विकल्प बनेका छन् । कान्ति लोकपथ र अन्य छोटो मार्गहरू मर्मतपछि पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।