काठमाडौं- चीनमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।
तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ ।
यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।
उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिएका छन्।