पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

इजरायल–हमास युद्ध बिराम वार्ताको अन्तिम चरण सुरु

२०८१ माघ २, बुधवार ०८:०७ बजे

एजेन्सी- इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ कतारमा सुरु हुने भएको वार्ताबारे जानकार एक स्रोतले बताएको छ ।

“आज दोहामा अन्तिम चरणको वार्ता हुने अपेक्षा गरिएको छ”, वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा बोल्दै स्रोतले एएफपीलाई भन्यो, “मङ्गलबारको बैठक सम्झौताको बाँकी विवरणलाई अन्तिम रूप दिने उद्देश्यले गरिँदैछ ।”

इजरायलका गुप्तचर निकायका प्रमुखहरू, आगामी र निवर्तमान अमेरिकी प्रशासनका मध्यपूर्व दूतहरू र कतारका प्रधानमन्त्री वार्तामा सहभागी हुने स्रोतले जनाएको छ । “मध्यस्थकर्ताहरूले हमाससँग छुट्टै वार्ता गर्नेछन्”, स्रोतले भन्यो । इजरायल र हमासबीच गाजा युद्धको अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूलाई रिहा गर्ने उद्देश्यले मध्यस्थहरू कतार, संयुक्त राज्य अमेरिका र इजिप्ट महिनौँदेखि वार्तामा संलग्न छन् ।

जनवरीको सुरुदेखि दोहामा अप्रत्यक्ष वार्ता पुनः सुरु भएको छ । वार्तामा जानकार एक स्रोतले सोमबार बताए अनुसार कतारमा भएको वार्तामा ‘बाँकी रहेका अड्चनहरूमा उल्लेखनीय प्रगति’ भएको छ र पक्षहरूलाई नयाँ ‘ठोस’ प्रस्ताव प्रस्तुत गरिएको छ । स्रोतले दुवै पक्षबाट प्रारम्भिक ‘सकारात्मक’ प्रतिक्रिया प्राप्त भएको बतायो । स्रोतका अनुसार प्रस्तावमा प्रारम्भिक आदान–प्रदानमा सयौँ प्यालेस्टिनी कैदीको बदलामा ३० भन्दा बढी इजरायली बन्धकलाई रिहा गर्ने कुरा समावेश छ ।